Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D
Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Sunday, June 19, 2011

पेच खुस्केको घोच



गठबन्धन
मुन्द्रे पाले दादा भइने
कार्यकर्ता पाले नेता भइने
यी दुबैलाई एक-अर्का चाइने !

पार्टी संस्कार
बन्द,हड्ताल,चक्काजाम र विरोध भैरहँदा
सरकारमा भइन्जेल कानमा तेल हालेर बस्ने
बाहिरिनासाथ सोही माग राखेर आन्दोलन गर्ने !

बोर्डिङ्ग स्कुल
पहिले बोर्डिङ्ग स्कुल बन्द गराउंदै हिंडे
अहिले आफैले खोल्न पुग्या छन् भरपेटलाई
अब पार्टीले बन्द गराइदेलान भन्ने पो पिर भो कमरेडलाई !

भत्ता
पहिले पनि पचेकै थियो
अहिले झन् खाने मुख कति छन् कति
बैठक बसेको भन्दा नबसेकै धेरै आउने आहा मजा कति !


Wednesday, September 22, 2010

फरक फरक साथी


बच्चा बेलाका साथी
स्कुल पढ्दाका साथी
कलेजका साथी
पत्रमित्र साथी
च्याटका साथी
मेलका साथी
बेमेलका साथी
फेसबुकका साथी
ब्लगरका साथी
सामाजिक संजालका साथी
सामाजिक जंजालका साथी
जिवनसाथी
जिवनकी साथी
असल साथी
खराब साथी
आफ्नो पार्टीका साथी
विरोधी पार्टीका साथी
भोज खाने पार्टीका साथी
कुट्ने साथी
कुटिने साथी
लुट्ने साथी
लुटिने साथी
चिनेका साथी
नचिनेका साथी
कामका साथी
बेकामका साथी
खाजाखाने साथी
भट्टिका साथी
रातका साथी
दिनका साथी
कुदिनका साथी
केटी साथी
केटा साथी
आफ्ना साथी
अरुको साथी
बुढाको साथी
बुढीकी साथी
साथीको पनि साथी
आफैं भन्नुस् तपाईं मेरो कुन चैं साथी?

Saturday, August 21, 2010

डिभी

"ट्रिङ ट्रिङ, ट्रिङ ट्रिङ, ट्रिङ ट्रिङ"
फोनको घन्टी लगातार बजिरह्यो । यसो घडी हेरें रातको ३ बज्न लागेको थियो । १ बजे छोरोलाई सुताएर भर्खर निदाउन लागेको मात्रै थिएँ । फोन उठाउन अल्छी लाग्यो, म उठाउने कोसिस गर्दिन । फोनको घन्टी फेरि बज्न थाल्छ । आफुसँगै मस्त निद्रामा सुतेको छोरो उठ्छ कि भन्ने पिर लाग्यो । अनि विवश भएर फोन उठाउन गएँ । पक्कै नेपालबाट आएको फोन हुनुपर्छ । जति भने पनि नलाग्ने कस्तो होला नेपालको मान्छेलाई । भित्र भित्र मुर्मुरिंदै फोन उठाएँ ।
"हेलो"
'हेलो, दाइ ' उताबाट अपरिचित नारीको आवाज आयो । उनको स्वर अलिक चर्को थियो । शायद आत्तिएर हो या एक्साइटेड भएर मैले खुट्ट्याउन सकिन ।
"तपाईंलाई त चिन्न सकिन, को बोल्नु भो ?" मलाई दाइ भनिसकेपछि त पक्कै पनि चिनेको मानिस हुनुपर्छ भन्ने लाग्यो । तर मैले सम्झिन सकिन, को हुन उनी भनेर ।
'दाइ म मेरिना । चिन्नु भयो ? तपाईंको घर भन्दा तल्लो लाइनको, बाबुकान्छाको ठुली छोरी ।' उनीले आफ्नो परिचय दिइन ।
अचानक एक दशकको विदेश बसाइमा पहिलो पल्ट आफुले सोच्दै नसोचेको मान्छेको फोन आएकोले अलिकति औपचारिकता पुर्‍याउनै पर्‍यो ।
"के छ ठुली हालखबर ? अनि सबै जना आरामै ?" नाम मेरिना भए हामी बोलीचालिमा उसलाई ठुली भनेर नै बोलाउँथ्यौं ।
'सबै ठिक छ दाइ ।'
"के भएर सम्झियौ त यतिका वर्षपछि ?"
'काम परेपछि सम्झनै पर्‍यो नि दाइलाई ।' उनीले सिधै भनिन् ।
"अनि के काम पर्‍यो त्यस्तो मैले गर्ने ?" शायद पैसा चाहिएर होला, मनमनै गुने ।
'दाइले स्पोन्सर लेटर पठाइदिन पर्‍यो मेरो लागि । '
म झसङ्ग भएँ, आफुले सोच्दै नसोचेको जवाफ पाएर ।
"केका लागि ?"
'मेरो डिभी परेको छ नि दाइ । स्पोन्सर लेटर चाइन्छ रे त्यसैले ।'
"आजकल त वेलकम लेटर मात्रै भए पुग्छ रे नि होइन र?" मैले सुनेको कुरो भनें ।
'होइन दाइ स्पोन्सर लेटर नै चाइन्छ रे?' उनीले अड्डी लिइन ।
"हेरम त्यसको लागि म के गर्न सक्छु । बरु ठुली के के चाइन्छ मलाई ईमेल गर । मैले सकेको गरौंला नि ।" मैले कुराकानी छोट्ट्याउने कोसिस गर्छु ।
'हस्, म तपाइँलाई इमेलमा लेखेर पठाउँला ।'
"अनि ठुली अर्को कुरो चैं फोन गर्दा त्यहाँको कि बिहान या बेलुकी मात्रै गर्नु । दिउँसो गर्दा याहाँको राती हुन्छ ।" आफन्तहरुलाई बल्ल बल्ल बानी पारेको थिएँ रातिमा फोन नगर्नलाई ।
'ओहो सरी है दाइ । मैले डिस्टर्ब गरें कि क्या हो ?'
"केइ छैन । पछि कुरा गरौंला है ।" त्यसको लागि ढिला भैसकेको थियो ।
'हस्' फोन उतैबाट काटियो ।
म भने रनभुल्लमा परें के गर्ने भनेर । ३ बजिसकेको थियो । बिहान चाँडै अफिस जानु पर्ने भएकोले ओछ्यानमा पल्टिएँ । आफुलाई निद्रा लागेन । आमा छोरा भने मस्त सुतिरहेका थिए । शायद फोनले डिस्टर्ब गरेन होला दुबैलाई । म निदाउने यत्न गर्छु सकिन । कहिले यता फर्किने, कहिले उता पल्टिने गरिरहें । तर कतिखेर निदाएँ थाहै भएन । बिहानको अलार्मले पो मलाई उठायो । आमा छोरा अझै निद्रामै थिए । म भने नित्य कर्म सकेर आफ्नो अफिस लागें ।
***
आजलाई यत्ति मात्रै लेख्न पाएँ बाँकी अर्को पटकलाई ।

Wednesday, August 11, 2010

कविताको पोइ !

एकजना मित्रले भने
कवि आफ्नै कविताको पोइ !
मनमा खुल्दुली भो मलाई,
म सोध्न पुग्छु
महोदय
कतै तपाईंको कविता भन्ने गर्लफ्रेन्ड छ कि ?
होईन !
त्यसो भए किन त?
मित्रले भने
साहित्य प्रति मानिसको रुचि घटे
आफ्नो कविता आफुले भन्दा अरुले नपढ्ने भएसी
आफुले बाहेक अरुले नभोग्ने स्वास्नी जस्तो भएन र?
म सहमत हुन सकिन ।

कतिका स्वास्नी पोइल गएकै देखेकोछु मैले
कति बलात्कार भएको पनि देखेकै छु मैले
कति अरुसँग सल्केको देखेको छु मैले
भन्न नभएर मात्र हो
अहिलेको समय
जहाँ संचारको पहुँच छ
इन्टरनेटको प्रभाव छ
र आजकाल सजिलो भएको छ
कतिका रचनाहरु पोइल गएका छन्
कतिका रचना बलात्कार भएका छन्
कति रचनाहरु अरुसँगै सल्केका छन्
न त यसको हिसाब किताब नै छ
न त सुरक्षाको ग्यारेन्टी नै
यी पनि हाम्रै देशको हाल बेहालबाट प्रभावित छन्
कति चोरका शिकार भएका छन्
कति डाँकाका पीडित छन्
कति लुटेराका आदी छन्
थाहा छैन वास्तविक रचनाकार को हुन भन्ने
जसलाई मन पर्‍यो उसले ट्याप्प टिप्यो
आफ्नो भित्तामा लागेर टाँस्यो
अनि आफ्नो बनायो
न कसैलाई सोध्नु छ
न कसैको अनुमति नै लिनु छ
आहा क्या काइदा !

यहाँ कविता मात्रै प्रताडित छैनन्
सबैजना सबैजसो पीडित छन् साहित्यमा
पाकिस्तानको बाढी जस्तो
हेइटीको भैंचालो जस्तो
हेर्ने मात्रै धेरै छन्
गर्ने कम नै छन्
कवि कविताको पोइ भए
कथाकार कथाका पोइ हुन्थे
गीतकार गीतका पोइ हुन्थे
यस्ता अनगिन्ती शिर्षक छन्
जसको न पोइ हुन्छ न जोइ नै
त्यसैले म मेरा मित्रसँग सहमत हुन सकिन ।


Saturday, August 7, 2010

पिउने रहर
















आज धेरै समय पछि पिउने रहर जाग्यो
अनि हरिभक्त कटुवालका यी कविताहरु सम्झिन पुगें ।
****************************

म आफ्नै बाटो हिंडिरहेको हुन्छु
पाइला अन्त कतै गइदिएको हुन्छ
सत्य,
म तिमीलाई नै सम्झिरहेको हुन्छु
तर मन अरु कसैको भइदिएको हुन्छ
म कायल छु ,
तिम्रो मुस्कान जस्तै यो रक्सीसित
कहिले मैले यसलाई खाइरहेको हुन्छु
कहिले उसले मलाई खाइरहेको हुन्छ ।


*****************************

सपना बोकेर आइदिने रातहरुलाई एउटा सलाम
त्यहि सपना खोसेर लैजाने प्रभातलाई अर्को सलाम
यहाँ सजिलैसित जिउनलाई एउटा निहुँ पाएको छ
रक्सी बनाइदिने त्यो पहिलो स्रिष्टीलाई ठुलो सलाम ।

******************************

Friday, March 19, 2010

केहि चोइटाहरु

भ्रष्टाचार

पैसा कमाउने धुनमा छौं हामी
सबै जना धनी हुने भए
काम चैं कस्ले गर्ने हो कुन्नि ?


महँगी

महङ्गीनलाई यसपालि बजेट भाषण कुर्नै परेन
बढेको भाउ कहिल्यै घटेन,
तर के गर्नु खान परेकै छ, लाउन परेकै छ ।


गरीबी

२० वर्ष पहिले भन्दा बजेट १० गुना बढेको छ
हामी कागज़को विकासमा मख्ख छौं
तर देशमा गरीबी घटेको तथ्याङ्क छ त ?


आयकर

कमाएको धनको कर सबैले तिर्नु पर्छ
तर कर तिरेर नांगिने भए
गरीब हुन कसलाई पो मन छ र ?


सेवा

सेवक घटेको होइन, समाज सेवा गर्ने धेरै छन्
तर हाम्रोमा माग्ने नै धेरै भएपछि
कस्ले नै पो सक्छ र भाग पुर्‍याउनलाई ।

Friday, February 26, 2010

टुक्राटाक्री

पुकदा

हजारौंलाई मारेर सत्तामा पुगेको मान्छे
अहिले बलि दिन नपाएर होला
ग्रह दशा बिग्रेको छ .


चड्कन मन्त्री

नेपालमा लोकतन्त्र आको छ
कसैलाई झोंकतन्त्र आको छ
हाम्रा मन्त्रीलाई ठोकतन्त्र आको छ .




विना विभागीय मन्त्री

मन्त्री बेरोजगार भएको देशमा
हामी युवाहरुले जागीर पाइएन भनेर
गुनासो गर्नु बेकार छ .



एनआरएन

माग भने दोहोरो नागरिकता अनि मतदानको
सुविधाको नाममा
राजनीति गरेर कमाउने खेल हो .

Saturday, March 21, 2009

जून, भगवान र मेरो बाबा

सानो छँदा,
बाबालाई धेरै दिन नदेखेर
आमालाई सोधें
आमा आमा
बाबा खोइ ? बाबा खोइ ??
आमासँग मेरो प्रश्नको जवाफ थिएन शायद
आमा एकछिन चुप हुनु भयो
शायद धेरै दिन चुप बस्न सकिंदैन भनेर होला
आमाले भन्नुभयो
बाबु, बाबा भगवान हुनु भयो
मैले चित्त नबुझेर फेरि सोधें
भगवान कहाँ बस्नु हुन्छ
आमाले मलाई भन्नु भयो
बाबु! भगवान आकाशमा बस्नु हुन्छ

धेरै पछिको एकदिन मैले आकाश मा जुन देखें
अनि आमालाई सोध्न पुग्छु
आमा त्यो के हो? त्यो के हो ?
आमा ले भन्नु भयो
बाबु त्यही हो भगवान
अचम्म मान्दै फेरि सोधें
आमा आमा
त्यसो भए बाबा त्यहीं बस्नुहुन्छ ?
मेरो प्रश्नले मेरी आमा नाजवाफ हुनु भयो
मात्रा रुनु भयो
मैले केही बुझ्न सकिन
मेरो मन भित्र भित्रै धेरै प्रश्नले जरा गाडेको
के मेरो बाबा नै जुन हो या मेरो बाबा भगवान हो
के जुन, भगवान अनि मेरो बाबा एकै हो ???


---------------------------------
(यो कविता नभएर छोरा सानो छँदा ऊ र म बिचको संवाद हो )
.

Saturday, February 14, 2009

बरु बेस हुन्थ्यो

नसमाएको भए बरु बेस हुन्थ्यो मेरा हातहरु
नखोजेको भए बरु बेस हुन्थ्यो मेरा साथहरु
नदेखाएको भए बरु बेस हुन्थ्यो असली जातहरु
नकाटेको भए बरु बेस हुन्थ्यो मसँग रातहरु!

नजोडेको भए बरु बेस हुन्थ्यो मसँग नाताहरु
नओढेको भए बरु बेस हुन्थ्यो च्यातिएको छाताहरु
नखोलेको भए बरु बेस हुन्थ्यो उधारो खाताहरु
ननाघेको भए बरु बेस हुन्थ्यो सीमान्त हाताहरु!

नकोरेको भए बरु बेस हुन्थ्यो प्रेमका खाकाहरु
नमारेको भए बरु बेस हुन्थ्यो छुट्टिने टाँकाहरु
नगरेको भए बरु बेस हुन्थ्यो मायाका वाचाहरु
नगाएको भए बरु बेस हुन्थ्यो पिरतिका भाकाहरु!

नचोरेको भए बरु बेस हुन्थ्यो असल फेसहरु
नहारेको भए बरु बेस हुन्थ्यो जीवनका रेसहरु
नफेरेको भए बरु बेस हुन्थ्यो क्षणमै भेषहरु
नगरेको भए बरु बेस हुन्थ्यो मायाका गेसहरु!

Saturday, October 25, 2008

घर को सम्झना !













फोटो सौजन्य "Reena"

यी गह्रा, कान्ला, झुपडी, नदी नाला, पहाडले
घरको सम्झना ताजा बनाइ दियो ।
हिजो सम्मन त्यहीं खेले जस्तो लाग्ने
आज त्यसै त्यसै बिरानो भइसक्यो ।

न त छुन सक्छु त्यो मेरो धरती लाई
त्यो त अब पराइ भईसक्यो ।
न त पोख्न सक्छु यो वेदनालाई
त्यो त अब स्‍मृतिमै बिलाईसक्यो ।

सानो छँदा खेलेको यो माटोले
जिस्काइ रहे जस्तो लागि सक्यो ।
बुढेसकालको सहारा खोज्दै छु म
अब पुर्खाको घर पनि भत्काइ सक्यो ।

- "बागी"

Friday, March 21, 2008

मेरो कविता

मेरो लेख्ने खासै समय र कला छैन, न त म कुनै साहित्यकार नै हुँ , तर पनि केही लेख्ने प्रयास गरेकोछु कसैको अनुरोधमा ।

*************************************

थोरै भए माया मेरो थपिदिउंकी
यी हात मेरा कम भए जोडीदिउंकी
साथ दिने वाचा भए पूराइदिउंकी
बाधा लाग्ने कसम भए जलाइदिउंकी !!!

चरा भए पिजंडाको तोडिदिउंकी
आशा भए क्षितिजको उडिदिउंकी
फूल लाउने इच्छा भए चुडिदिउंकी
टाढै जाने मन भए गुडिदिउंकि !!!

पूजा गर्ने भाकल भए बलि दिउंकी
मनपर्ने फूल भए फूलिदिउंकी
अँध्यारो भए कोठा तिम्रो जलिदिउंकी
तिम्रो प्रेममा पागल भै ढलिदिउंकी !!!