Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Saturday, July 17, 2010

व्यस्त जीवन

जीवनको अनेक उकाली ओराली पार गर्दै याहाँसम्म आइपुगेको छौं । भन्ने र देख्नेहरुका लागि हामीले प्रगती गरेका छौं , तर व्यस्तताको बयान गरी साध्य छैन । सधैं केहि न केहि आइलाग्ने । दिनभर काममा व्यस्त, घरमा आएपछि छोरोलाई खेलाउनै पर्‍यो । दिनभरी आमासँग खेलेर वाक्क हुँदो हो, मलाई देखेसी मेरो पछि लागि हाल्ने बानी छ । आफ्नो भने बेहाल । फेरि उसलाई सुताउन उस्तै गाह्रो छ । मध्यरात भन्दा अघि सुत्ने नामनै लिंदैन, सधैंको १-२ बज्छ । आफु भने बिहानै उठेर काममा जानु पर्ने मान्छे । समय मिलाउनै को सधैं धौ धौ । अनि छोरो नेपाली गीत भनेसी भुतुक्कै हुन्छ । पहिले पहिले नेपाली रिमिक्स गीत हेर्थ्यो, आजकाल नेपाली लोकगीतको फ्यान भको छ । आँखा झिमिक्क नगरी हेर्छ । यदि उसलाई मन नपरेको गीत आए, रोइदिए पुग्यो । अनि अर्को गीत लगाइदिन परिहाल्यो । उसलाई मन परेको गीत त दोहोर्‍याइ तेहर्‍याइ हेरेर पुग्दैन । अब पहिले पहिले किनेका भिसिडीबाट वाक्क भैसक्यो । युट्युबमा भएको हेर्न थालेको छ, त्यो पनि कति सम्मलाई हुने हो थाहा छैन । जे होस् टेक्नोलोजीले सहयोग गरेकै छ ।

video

सुमित नेपाली गीत हेर्दै

बच्चा भएपछि जिम्मेवारी बढ्छ नै, हामी दुबैको धेरै समय आजकाल बाबु हेर्नमा नै बितेको छ । कुनै कुनै बेला समय नै अपुग भए झैं हुन्छ । हामी दुबै काम गर्ने भएकोले समय मिलाउन अलिक गाह्रो भएको छ । फेरि मेरो काम भनेको सातै दिन जस्तो हुने भएकोले पनि गाह्रो भएको हो । हाललाई मेरो प्रोजेक्ट सकिन सकिन लागेकोले झन बेफुर्सदिलो भैदिएको छु । अब १-२ हप्तामा सकिन्छ होला । त्यसपछि भने मसँग प्रसस्त समय हुनेछ । किनकी त्यो प्रोजेक्ट पछि बेरोजगार हुनेछु भन्ने पक्का छ । चाहे त्यो केहि समयको लागि नै किन नहोस् । सोच्नलाई त बाबु पाएपछि नै जागिर छाडिदिन्छु भन्ने सोच बनाइ सकेको थिएँ । प्रोजेक्टको बिचैमा छाडिदिन मनले मानेन । ५-६ महिनामा सकिइहाल्छ भन्ने भयो । आर्थिक मन्दीको बेला च्याट्टै छाडिहाल्नु बुद्धिमानी होइन भनेर पनि छाड्न सकिन । फेरि भने जस्तो जागिर सितिमिती पाइंदैन । बरु जेनतेन चलाउनु पर्ला भन्ने सोचेर त्यो जागिर धानिरहें । मे महिनामा सकिनु पर्ने प्रोजेक्ट एउटा सबकन्ट्रयाक्टरले धोका दिएकोले २ महिना लम्बियो । उनीलाई जति गाह्रो भए पनि केही गुनासो गरिनन । त्यसैले मैले जागिर खान पाइरहें । बरु अब त्यो जागिर भरे भोली भएर बसेको छ । त्यसैले अहिले आएर मनमा कस्तो कस्तो लागिरहेछ । भविष्यको चिन्ता भन्दा पनि अब यसपछि के गर्ने हो भन्ने पिर थपिएको छ । शायद २-४ महिना खाली बस्छु या जे जस्तो जागिर पाइन्छ त्यसमा सन्तोष गर्छु त्यो पछिको कुरो हो । तर अहिलेलाई भने जे पर्ला त्यो टर्ला भनेर बस्नु सिवाय अरु कुनै विकल्प भए जस्तो लाग्दैन ।


अन्तमा , जे सोचेर यो ब्लग शुरु गरेको थिएँ त्यसको एक चौंथाइ लक्ष्य पनि प्राप्त गर्न सकिरहेको छैन । व्यस्त जीवनको यो समयप्रति मेरो गुनासो चैं छैन । मात्र यत्ति हो, कुनै बेला मसँग समय हुँदा पनि त्यसलाई ब्लग अपडेट गर्न तिर लगाउन सकिन; मूडले गर्दा । लेख्न समय भएर मात्र नहुने वातावरण पनि चाहिने रहेछ, होइन र? आउने दिनहरुमा फुर्सदको समय यसैमा लगाउने विचार गरेकोछु । हेरौं के हुने हो ।