Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Saturday, May 10, 2008

विधवा विवाह

आज छुट्टै विषयमा यहाँ चर्चा गर्न लागेको छु । यो लेख केही समय अघिको कान्तिपुरबाट साभार गरिएको हो । मेरो ब्लगको उद्देश्य मनोरंजनात्मक लेखहरु हुन तर यो मन छुने लेख पढे पछि आफुलाई थाम्न सकिन । मेरो ब्लगको शिर्ष स्थानमा रहेको गितको समेत यसमा चर्चा भएकोले पनि यहाँ प्रस्तुत गर्न मन लाग्यो ।
*******

बाधा अड्चन फुकाई प्रिय
टीका, चुरा, शृङ्गार सजाई
गुलावझैं बनी प्रिय
काँडा बीच पनि जीउन सिक्नु
हिंड्दै जाँदा भावनालाई बुझ्ने
हितकारी मान्छे भेटे निसंकोच नाता जोड्नु ।
मलाई भोलि केही भए......

आफ्नो मृत्युको कल्पना गरेर कुन श्रीमानले श्रीमतीलाई यसो भन्लान् - अचम्म नमान्नुस्, सञ्चारकर्मी दिपेन (दीपेन्द्र) श्रेष्ठले श्रीमतीलाई सम्बोधन गर्दै यो गीत लेखेका हुन् । उनका शब्दमा भावुक स्वर भरेका छन् गायक कर्णदासले । एकल महिलाले रातो पहिरन लगाएको देख्दा जिब्रो टोक्नेहरू उनीहरूको पुनः विवाहका लागि सजिलै तयार होलान् - हुँदैनन्, त्यसका लागि निरन्तर संर्घष गर्नुपर्छ उनीहरूले ।

एकल महिलामा रातो पहिरनले के प्रभाव पार्ला - आउनुहोस् यो प्रश्न सोधौं मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीकी सचिव प्रमिला तझ्यालाई । उनी भन्छिन्- 'पति वियोगमा परेकीलाई रङ्गबाट वञ्चित गरिनु दोस्रो वियोग हो । तर, रङ्गभेद नहुँदा आत्मविश्वास बढेको छ ।'

सफल हुन रातो रङ्ग लगाउनै पर्छ भन्ने छैन । लगाउन पाएर नलगाउनु र लगाउन नपाएर नलगाउनुमा धेरै फरक छ । रातो रङ्ग त सबैले बच्चैदेखि लगाए । सिन्दुर पनि बेलसँग विवाह गर्दै लगाएकी थिइन् प्रमिलाले बेलको मृत्यु भएको छैन । श्रीमानको मृत्युपछि उनले सिन्दुरमात्रै होइन सम्पर्ण शृङ्गार र जन्मजात पाएको रातो रङ्ग समेत त्याग्नुपर्‍यो । तर समयसँगको कठोर संर्घषमा खारिएकी छन् उनी ।

०६१ चैतमा पोखराका सयभन्दा बढी एकल महिलालाई सामुदायिक सचेतना समाजले आफन्तको हातबाट रातो लगाइदिने अभियान चलायो । एकल महिलालाई यो सांस्कृतिक क्रान्तिले आत्मविश्वास बढायो । जुना केसीलाई पनि सुनौंन- 'रातो लगाउनु अर्को विवाह गरेको पहिचान होइन रंगभेदका कारण शुभकार्यमा वञ्चित गरिने विभेद हटाउन हो, धक फुकाएर आफूले रोजेको रङ्ग लगाउन पाउदा आफूलाई कमजोर नभएको र सुरक्षित भएको महसुस भएको छ ।' स्याङ्ग्जाकी देवी थापासँग रातो पहिरनले दृष्टिकोणमा बराबर देखाउने अनुभव छ ।

सरोजगोपाल बज्राचार्यको गीत 'रातो रिबनमा कहिल्यै धोको पुगेन जीवनमा' गुनगुनाउँदै बाल्यकालमा रातो रिबनले दुइ चुल्ठा बाट्थिन् रे प्रमिला । भन्छिन्- 'बच्चामा रातो रहरले लगाए, विवाहपछि लगाउनपर्छ भन्ने बुझेर लगाए, अहिले अभाव पूर्ति गर्न लगाउँदैछु ।' रातो रङ्गको सहायताले प्रमिलाजस्ता एकल महिलाले जीवनमा परिवर्तन महसुस गरेका छन् । तनहुँकी संगीता श्रेष्ठ पनि फेरिएकी छन् । 'खाली रुन मन लाग्ने केही गर्न सक्दिन जस्तो हुन्थ्यो,' उनले भनिन्- 'रातो लगाउँदा आत्मविश्वास बढेको छ काम गरेर बाँच्न सक्ने भएकी छु ।'

मृत्युदर्ता गरेर नाता प्रमाणित गर्न जाँदा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासन अधिकृतले श्रीमान बितेको ४५ दिनका दिन चुरापोते लगाएको फोटो हुँदैन विधवाको भेषमा अर्को फोटो खिचेर आउन पठाएको क्षण बिर्सेकी छैनन् प्रमिलाले । हिजोआज कतिपय एकल महिला श्रीमान भएका महिलाभन्दा बढी आत्मनिर्भर र स्वावलम्बी जीवन बिताइरहेका छन् । तर अझै आवश्यक छ सामाजिक क्रान्ति र दृष्टिकोणको ।

लोकतान्त्रिक आन्दोलनका साथी भीमसेन दाहालको मृत्युलाई नजिकबाट नियालेका सञ्चारकर्मी दिपेनले आफ्नी श्रीमतीकी साथी सविता दाहाललाई सम्झेर उक्त गीत लेखेका रहेछन् । भन्छन्- 'भाषणले हुनेवाला केही छैन, यिनीहरूको हौसला बढाउन सकियो भने संसार बदल्न सकिन्छ ।'

हेरौं अब कति एकल महिलाले रहर गर्छन् र कति हितकारी युवाले हिम्मत निकाल्न सक्लान् विवाह गर्न । आठ वर्ष पहिले एकल बनेर पुनः विवाह गरेकी थिइन् चितवनकी नीला गिरीले । उनी अठार वर्षकी छँदा श्रीमानको मृत्यु भयो । तेइस वर्षकी हुँदा माइती (तनहुँ) र घरपरिवार (पोखरा) को सहमतिमा उनले पुनः बिहे गरिन् चितवनको केटासँग । दुइ छोरा र श्रीमानका साथ चितवनमा बसेकी नीला भन्छिन्- 'उमेर छ र आफूलाई चाहने र आफूले पनि चाहने भेटे पाइला चाल्दा हुन्छ ।'

'छोरी मरे १३ दिनभित्रै ज्वाँईंलाई अर्की छोरी दिन तयार हुने बाबुआमा ज्वाँईं मरेपछि छोरीलाई अर्को ज्वाँईं खोज्ने शब्द उच्चारण गर्नसम्म किन डराउँछन् ?' प्रमिलाको सुक्ष्म प्रश्नको मसँग जवाफ छैन ।

- वसन्ती बास्तोला

No comments:

Post a Comment