विश्वका विभिन्न भाषा, कला, संस्कृतिको जमघट भएको देश अमेरिकामा म भर्खर आउँदा साह्रै नियास्रो लागेको थियो । गोरा र कालाहरुको बाहुल्य भएको यो देशमा हामी जस्तो मंगोलियन अनुहार देख्नै नपाइने । जब काममा जान थालें , अनि हिस्पेनिक मुहार पनि फाट्टफुट्ट देख्न पाइयो। होचो कद, गोलो अनुहार, गहुँगोरो छाला भएको हिस्पेनिक अनुहार काटीकुटी हामी जस्तै हुने। तर भाषाको दृष्टिकोणमा भने हामी भन्दा आकाश जमिनको फरक रहेछन । हाम्रा मित्रराष्ट्रका मानिसहरु भने मनग्गे रहेछन् यो ठाउँमा काम गर्न थालेपछि थाहा भयो । हुन त उनिहरु नपुगेको ठाउँ कहाँ पो होला र यो संसारमा ? तर पनि पूर्वि अमेरिकाको सानो यो शहरमा हामी नेपाली परिवारहरु कम नै थियौं । त्यसैले ति मित्रराष्ट्रका साथिहरु धेरै भए र भाषागत हिसाबमा अमेरिका आएपछि मैले अंग्रेजी भन्दा हिन्दि भाषा बढी सिकें । एक किसिमले हिन्दिमा त म पारङ्गत भएँ भन्दा फरक पर्दैन। सधैं ति मित्रराष्ट्रका साथिहरुसँग रमाउन पनि सकिएन । त्यसैले बेलाबखतमा आफ्नै नेपाली दाजुभाइहरु भेट्न पाए पनि कस्तो हुन्थ्यो होला? यिनिहरू भन्दा पक्कै बेसी सहयोगी हुन्थे होला । मनमा यि यावत् कुराहरु सधैं आइरहन्थ्यो । मैले एउटा उपाय निकालें पनि । यसो कोहि हामी जस्तै मान्छे देखें भने नजिकै गएर नेपाली गित गुनगुनाउने गर्न थालें। सोचें , यदि नेपाली भए उसले बुझेर मसँग बोल्न अवश्य आउनेछ । तर त्यस्तो मौका कहिल्यै आएन। बरु हिस्पेनिकहरू उनिहरुकै भाषामा के के हो के के सोध्न बोल्न थाले बा। जस्को त्यतिबेला कुनै जवाफ थिएन मसँग। किनकी त्यों बेला सम्म मलाई स्पेनिश भाषाको कुनै ज्ञान थिएन । बिस्तारै मैले पनि केहि बोलिचालिको स्पेनिस भाषा सिक्नु पर्यो। कोहि मसँग बोल्न आइहाल्यो भने पनि उनिहरुलाई बोलीसके पछि, मैले "मी नो कम्प्रेन्दे" ( अंग्रेजीमा I don't understand) , "मी नो साबे " ( अंग्रेजीमा I don't know) भन्न थालें । अब जता गए पनि यी हिस्पेनिकहरुको ठूलै जमात हुने गर्थ्यो,जसरी नेपालमा हाम्रा मित्र राष्ट्रका मानिसहरु छन । अनी एक न एकजना हिस्पेनिक प्रत्येक दिन भेट हुन थाले पछि भने म वाक्क भएँ । हुँदा हुँदा हिस्पेनिक देख्यो कि गाली गर्न मन लाग्ने बनाईदियो उनिहरुको व्यवहारले । उनिहरु अंग्रेजी जाने पनि बोल्न नखोज्ने, मलाई रिस उठेर आयो । उनिहरु स्पेनिस बोल्दा म पनि नेपालीमा भट्टाउन थाल्थें । अनि त के थियो र, उनिहरु मेरो भाषा नबुझेर दङ्ग, यता म मेरो बल्ल जुक्ति काम लाग्यो भनेर मख्ख नि । त्यस्तै एकदिन काममा एकजना हिस्पानिक जस्तै लागने मेरो अगाडि आएर "ओला अमिगो" (अंग्रेजीमा hello friend ) भन्यो । अनि त के थियो र मेरो कन्सिरिको रौं नै तात्तिइहाल्यो। मैले पनि "ख: माम्पाखा **सा" भनेर प्वाक्क भनि हालें । उसले जवाफमा हासेर " ए! तपाईं पनि नेपाली" भनेर भने पछि पो म झल्याँस्स भएँ । मेरो मुख रातो भएर आयो। मैले बोल्नै सकिन । उ पनि नेपाली नै रहेछ । म जस्तै उ पनि नेपाली नभेटेर कामचलाऊ स्पेनिस भाषा सिकेको रहेछ । धेरै त उसलाई पनि नआउने रहेछ । गाली गरेकोमा मैले त्यो नेपालीसँग माफि मागें। तर उसले त्यसलाई सामान्य कुरो मानेर केहि भनेन । त्यस घटना पछि हामी साथी भयों । त्यसपछि मैले कसैसँग बोल्दा पहिले धेरै कुरामा विचार पुर्याएर मात्र बोल्ने गरेको छु ताकि यस्तो घटना भविष्यमा फेरि नदोहोरियोस।
--------------
यो ब्लग शुरू गर्नु अगाडी अर्को वेब पेजमा प्रकाशित लेख हो । हाल उक्त वेबसाइट बंद हुने भएकोले यहाँ स्थानान्तरण गरिएको हो ।
हा हा हा! रमाईलप लाग्यो यो प्रसंग!
ReplyDelete