Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Friday, March 7, 2008

चौतारीबासी भउतेको चर्तिकला -३!

ओइ! तेरो बाउ खोइ?


उहिले भउते अलिक जवान छँदैको कुरो हो, त्यतिबेला भउते नामूद जंड्याहामा गनिन्थ्यो । हुन पनि उस्लाई जाँड नखाई नहुने । गाउँ भरी रक्सी खाएर उधारो माग्न कसैलाई बाँकी राखेन। लमिनि दीदिले पनि कतिन्जेल धानुन्, धेरै भएपछि त्यहाँ पनि उधारो दिन बन्द भयो। जाँड खाएर रात दिन हल्लिए सी खल्तिमा पैसा भएन । जाँड खानलाई पैसा नभएर घरको सामान पनि बेच्न भ्याए हाम्रा भउतेले । अर्थोक गरुन पनि के गरुन त्यो भन्दा बाहेक अर्को विकल्प थिएन । घरको सामान पनि बेचिसकेपछि केइ सीप चलेन भउतेको। उसले अनेक बहानाबाजी गरे, नाटक गरेर पैसा झार्न नसके पछि भगवानको शरणमा जाने निधो गरे । त्यो डाँडाको पल्लो छेउमा हालको हाम्रो यही चौपारी नजिकै एउटा मन्दिर थियो। त्यस मन्दिरमा एउटा ठूलो हनुमानको मुर्ति थियो ।

त्यसदिन भउते मात्तेकै सुरमा मन्दिर पुग्यो । अनि उसले हनुमानको मूर्ति अगाडि हात जोडेर प्रार्थना भन्ने कि के भन्ने गर्न बस्यो। जाँड खाएकै तालमा भन्दै थियो, "हेर्नुस् भगवान, ह्याँ पनि घोर कलियुग लागेछ। केइ नभेर अब मैले यो गाउँमा उधारो पाम्नै छडिसकें । त्यो लमिनि दीदिले समेत नपत्याम्ने भए । यस्तो पनि हुन्छ त। घरको भाँडाकुँडा पनि सकिइ सक्यो । अब मैले कि त अर्काको चोर्नु पर्‍यो, कि त जाँड खान छोड्नु परो। चोर्न त म जाँदै जान्न, मरि गए जान्न। तर... यो जाँड पनि त छाड्न सक्तिन। म त चाइने जो तपाईंको शरणमा आको छु। अब हजूरले नै मलाई पार लाउनु परो। भोलि म फेरि आउँछु त्यति बेला मलाई केइ पैसा दिलाइदिनु पर्छ । होइन भने म ... म... तिम्रो यो मूर्ति-सूर्ति फूटाइ दिन्छु।" मान्छे बहुलासि के लाग्छ र। नानाभाँति भनेर फर्कियो । ती सबै कुरा त्यो मन्दिरको पूजारी बाले भित्रबाट सुनिराखेको रहेछ । पूजारीबालाई पर्नु पिर पर्‍यो के गर्ने भनेर । आखिर उनले पनि एउटा उपाय निकाले ।

भोलिपल्ट भउते रङ्गिन भएर ढल्मलिंदै मन्दिर पुग्यो । फेरि त्यो दिन पनि हनुमानको अगाडि बसेर आफ्नो गुनासो पोख्न थाले, "हेर्नुस् भगवान, यो मान्छेको जात नै बैगुनी, जति धोके पनि नपुग्ने। आज पनि मैले ढाँटेर पिउनु परो, यसरी कती दिन चल्ने ? तपाईं आफैं भन्नु त यो पनि राम्रो हो र ? अब मैले हिजै भनेको थिएँ मेरो लागि पैसाको बन्दोबस्त गरिदिनु पर्‍यो प्रभु।" भनेर ढोगे। मूर्तिको पछाडि लुकेर बसेका पूजारीबाले फुत्त दश रुपैयाँ दाम फालिदिए। जब भउतेले टाउको उठायो , आफ्नो अगाडि पैसा देखेर दङ्ग पर्‍यो; "ओहो, कस्तो आश्चार्य। मैले पैसा फेला पारें । धन्य प्रभुको लीला । अब यसैगरी सधैं हजूरको निगाह ममाथि परोस्। म सदैव हजूरको शरणमा हुनेछु। मैले के भनी राख्नु पर्ला र मेरो पीर मर्का सबै तपाईंलाई थाहै छ। जे होस् यसरी नै मेरो खर्चको जोहो भैराखोस्, नत्र ...।" जाँदाजाँदै उसले धम्किको भाषा प्रयोग गर्न पनि भ्यायो भउतेले । पछाडि बसेर सुनिराखेको पूजारीलाई अर्को आपत पर्‍यो । उनले शायद यो समस्या एकचोटीलाई हो भन्ने ठानेका थिए तर उसले भउतेबाट यति सजिलै छुटकारा पाउँला भन्ने आश लागेन । तैपनि पूजारीबाले राम्रै हुने सोचेर चुपचाप बसे । भोलिपल्ट पनि भउते मातेर आयो। भगवानलाई ढोगेर उठ्ता भउतेले पैसा भेट्टायो, ऊ मख्ख पर्‍यो, तर धम्काउन छाडेन । एवंरीतले हप्ता हुँदै महिना नै बित्यो, भउते मन्दिर आउने क्रम छुटेन । अब भने पूजारीलाई साँच्चिकै अप्ठेरो पर्‍यो, यसरी कति दिन चलाउने भनेर किनकि भउतेले पैसा पाएन भने मन्दिरमा भएको हजारौं पर्ने मूर्ति फुटाल्ने खतरा भइ नै रह्यो । भउतेबाट छुटकारा पाउन अब केइ न केइ गर्नु पर्छ भन्ने लाग्यो पूजारीबालाई र अन्तमा जुक्ति पनि फुराए । उनले त्यो ठूलो हनुमानको मूर्तिको साटो त्यस्तै खालको सानो मूर्ति राखिदिए मन्दिरमा । आर्को दिन पनि हाम्रा भउतेको मात्तिदैं सवारी भयो मन्दिरमा । उसले यताउति नजर लगायो कहिं पनि हनुमानको मूर्ति भेटेन । केहिबेरको अलमल पछि उसले सानो हनुमानको मूर्ति त्यहाँ भएको थाहा पायो। भउते त्यो सानो मूर्तिको अगाडि बस्यो र मूर्तिको कान नजिकै गएर सानो स्वरमा सोध्यो,"ओइ! तेरो बाउ खोइ?"

2 comments: