Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Saturday, August 21, 2010

डिभी

"ट्रिङ ट्रिङ, ट्रिङ ट्रिङ, ट्रिङ ट्रिङ"
फोनको घन्टी लगातार बजिरह्यो । यसो घडी हेरें रातको ३ बज्न लागेको थियो । १ बजे छोरोलाई सुताएर भर्खर निदाउन लागेको मात्रै थिएँ । फोन उठाउन अल्छी लाग्यो, म उठाउने कोसिस गर्दिन । फोनको घन्टी फेरि बज्न थाल्छ । आफुसँगै मस्त निद्रामा सुतेको छोरो उठ्छ कि भन्ने पिर लाग्यो । अनि विवश भएर फोन उठाउन गएँ । पक्कै नेपालबाट आएको फोन हुनुपर्छ । जति भने पनि नलाग्ने कस्तो होला नेपालको मान्छेलाई । भित्र भित्र मुर्मुरिंदै फोन उठाएँ ।
"हेलो"
'हेलो, दाइ ' उताबाट अपरिचित नारीको आवाज आयो । उनको स्वर अलिक चर्को थियो । शायद आत्तिएर हो या एक्साइटेड भएर मैले खुट्ट्याउन सकिन ।
"तपाईंलाई त चिन्न सकिन, को बोल्नु भो ?" मलाई दाइ भनिसकेपछि त पक्कै पनि चिनेको मानिस हुनुपर्छ भन्ने लाग्यो । तर मैले सम्झिन सकिन, को हुन उनी भनेर ।
'दाइ म मेरिना । चिन्नु भयो ? तपाईंको घर भन्दा तल्लो लाइनको, बाबुकान्छाको ठुली छोरी ।' उनीले आफ्नो परिचय दिइन ।
अचानक एक दशकको विदेश बसाइमा पहिलो पल्ट आफुले सोच्दै नसोचेको मान्छेको फोन आएकोले अलिकति औपचारिकता पुर्‍याउनै पर्‍यो ।
"के छ ठुली हालखबर ? अनि सबै जना आरामै ?" नाम मेरिना भए हामी बोलीचालिमा उसलाई ठुली भनेर नै बोलाउँथ्यौं ।
'सबै ठिक छ दाइ ।'
"के भएर सम्झियौ त यतिका वर्षपछि ?"
'काम परेपछि सम्झनै पर्‍यो नि दाइलाई ।' उनीले सिधै भनिन् ।
"अनि के काम पर्‍यो त्यस्तो मैले गर्ने ?" शायद पैसा चाहिएर होला, मनमनै गुने ।
'दाइले स्पोन्सर लेटर पठाइदिन पर्‍यो मेरो लागि । '
म झसङ्ग भएँ, आफुले सोच्दै नसोचेको जवाफ पाएर ।
"केका लागि ?"
'मेरो डिभी परेको छ नि दाइ । स्पोन्सर लेटर चाइन्छ रे त्यसैले ।'
"आजकल त वेलकम लेटर मात्रै भए पुग्छ रे नि होइन र?" मैले सुनेको कुरो भनें ।
'होइन दाइ स्पोन्सर लेटर नै चाइन्छ रे?' उनीले अड्डी लिइन ।
"हेरम त्यसको लागि म के गर्न सक्छु । बरु ठुली के के चाइन्छ मलाई ईमेल गर । मैले सकेको गरौंला नि ।" मैले कुराकानी छोट्ट्याउने कोसिस गर्छु ।
'हस्, म तपाइँलाई इमेलमा लेखेर पठाउँला ।'
"अनि ठुली अर्को कुरो चैं फोन गर्दा त्यहाँको कि बिहान या बेलुकी मात्रै गर्नु । दिउँसो गर्दा याहाँको राती हुन्छ ।" आफन्तहरुलाई बल्ल बल्ल बानी पारेको थिएँ रातिमा फोन नगर्नलाई ।
'ओहो सरी है दाइ । मैले डिस्टर्ब गरें कि क्या हो ?'
"केइ छैन । पछि कुरा गरौंला है ।" त्यसको लागि ढिला भैसकेको थियो ।
'हस्' फोन उतैबाट काटियो ।
म भने रनभुल्लमा परें के गर्ने भनेर । ३ बजिसकेको थियो । बिहान चाँडै अफिस जानु पर्ने भएकोले ओछ्यानमा पल्टिएँ । आफुलाई निद्रा लागेन । आमा छोरा भने मस्त सुतिरहेका थिए । शायद फोनले डिस्टर्ब गरेन होला दुबैलाई । म निदाउने यत्न गर्छु सकिन । कहिले यता फर्किने, कहिले उता पल्टिने गरिरहें । तर कतिखेर निदाएँ थाहै भएन । बिहानको अलार्मले पो मलाई उठायो । आमा छोरा अझै निद्रामै थिए । म भने नित्य कर्म सकेर आफ्नो अफिस लागें ।
***
आजलाई यत्ति मात्रै लेख्न पाएँ बाँकी अर्को पटकलाई ।

No comments:

Post a Comment